बागलुङको अधिकारीचौर गाउँमा १४ वर्ष अगाडि विद्युत् पुगेको थियो । बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु–सुरुमा उज्यालो पाएका स्थानीयवासी वर्षौंदेखि बर्खाको समयमा भने अन्धकारमा बस्दै आएका थिए । हिउँदमा मर्मत गरे पनि बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए । अधिकांश रातहरु अँध्यारोमा बिताएका उनीहरुले अब त्यो नियति भोग्नुपर्ने छैन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्कलगायत गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । गाउँमा केन्द्रीय लाइनबाट उपलब्ध विद्युतले स्थानीय दङ्ग परेका हुन् । विसं २०६५ मा बुढाथोक लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि गाउँमा विद्युत् पुगे पनि बाह्रै महिना बाल्न पाइएको थिएन । केन्द्रीय विद्युत् जडान भइसकेकाले अब बर्खामा पनि बिजुली बत्ती बाल्न पाइने स्थानीयवासी शालिकराम कँडेलले बताउनुभयो ।रासस