लामो समयसम्म हिउँदे वर्षा नभएपछि डोटीमा हिउँदेबाली (गहुँ, जौ, मुसुरो) लगायत नगदे बाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् । यसवर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, मुसुरो, हिउँदे तरकारीको उत्पादनमा निकै कमी हुने देखिएको बडीकेदार गाउँपालिका–५ का किसान टङ्क रम्तेलले बताउनुभयो । “बारीमा लगाइएको अन्नबाली नफल्ने भएपछि परिवार कसरी पाल्ने चिन्ताले सताउन थालेको छ। समयमा पानी नपरेपछि आधा जमिनमा उहाँले गहुँ छर्न पनि पाउनुभएन । हिँउदे वर्षा नभएपछि छरेको गहुँ पनि बारीमा उम्रिएन । अब भोकमरी हुन्छ की भन्ने डरले सताउन थालेको छ। उहाँले भन्नुभयो” खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश किसान उत्पादनमा कमी आउने देखिएपछि चिन्तित भएका छन् । कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा किसानाई सुविधा पुगे पनि सिँचाइ, मल, बीउ र कृषिका लागि जनशक्तिको भने अभाव देखिएको बडीकेदार –२ का अर्का किसान ललित बडैलाले बताउनुभयो । कतिपय ठाउँमा सिँचाइका लागि पानी भए पनि भौतिक पूर्वाधार नहँुदा सिँचाइ गर्न समस्या भएको छ । हिउँदेबाली खडेरीले सुक्न थालेपछि किसानले सिँचाइको लागि स्थानीय सरकाले उपयुक्त व्यवस्था गर्न नसकेको गुनासो गरिरहेका छन् । डोटी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपाली हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । डोटीमा २२ हजार दुई सय ७६ हेक्टर जमिन खेतीयोग्य रहेकामा हाल १४ हजार दुई सय ९८ हेक्टर जमिनमा गहुँखेती हुँदै आएको छ । गतवर्ष समयमै वर्षा भएका कारण २४ हजार तीन सय १४ मेट्रिकटन गहुँ उत्पादन भएको थियो । समयमै वर्षा भएका कारण गत वर्ष उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनुभयो । पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहँुदा यसपटक हिउँदेबाली गहुँ, जौ र मसुरोको उत्पादनमा कमी आउने उहाँको भनाइ थियोे ।रासस