लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गर्नुभएको हो । उहाँले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुदै गएकाले केही वर्षयतादेखि जारी सङ्कटको समाधानका लागि सहयोगका लागि आग्रह गर्नुभएको हो । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथीले आइतबार त्रिपोलीमा आयोजित एक कार्यक्रममा सो आग्रह गर्नुभएको हो । आइतबार लिबियाको राजधानी त्रिपोलीमा आयोजना भएको अरबका विदेशमन्त्रीहरुको एक परामर्श बैठकमा उहाँले लामो समयदेखि जारी रहेको लिबियाको सङ्कट समाधानका लागि लिबियाका छिमेकी देशहरुका साथै अरब देशहरुसमक्ष आग्रह गर्नुभएको हो । सो बैठकपछि उहाँले ट्वीटमा लेख्नुभएको छ– विगत लामो सयमदेखि लिबिया आर्थिक लगायतको सङ्कटमा छ, त्यसैले यसका छिमेकी देशहरु, अरब देशहरुका साथै अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुलाई आग्रह गर्दछु । उहाँले लिबियाका सबै राजनीतिक दलहरुका साथै हाल लिबियालाई सहयोग गर्दै आएका विदेशी दाता राष्ट्रहरुले पनि लिबियाको विकासका लागि ऐक्यवद्धता जनाउनुपर्नेमा जोड दिनुभएको छ । लिबिया राजनीतिक अस्थिरता तथा आपसरी द्वन्द्वका कारण लामो समयदेखि आर्थिक संकटमा परेको छ । हाल यहाँको आर्थिक व्यवस्थामा सहयोग गर्नुपर्ने देखिएको संयुक्त राष्ट्रसंघले बताउँदै आएको छ ।रासस