बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन थालिएको छ । गत वर्ष तमानखोला गाउँपालिका–२ कटेरीका ४९ वर्षीय चूडामणि छन्त्यालले परीक्षणका लागि लगाएको स्ट्रबेरी बेचेर रु दुई लाख आम्दानी गर्नुभयो । उहाँले उत्पादन गरेको स्ट्रबेरी पोखरामा बिक्री भएको थियो । अहिले जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यले आफ्नै आचार्य जैविक कृषि फर्ममा समेत पहिलो पटक स्ट्रबेरीको खेती थाल्नुभएको छ । पछिल्लो समय बागलुङमा छन्त्याल र आचार्यले स्ट्रबेरीको व्यावसायिक खेती थाल्नुभएको छ । छन्त्यालले बागलुङमा स्ट्रबेरी खेती गरेको खबर पाएपछि उहाँकै सल्लाहमा पहिलोपटक यस वर्ष एक हाइटेक टनेलमा स्ट्रबेरी खेती थालेको राङ्खानीका कृषक केदार आचार्यले बताउनुभयो । उहाँले गत वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती थालिएको जनाउँदै यो बागलुङका लागि नयाँ फल रहेको बताउनुभयो । उहाँले आफूले परीक्षणका लागि लगाएका तीन सय स्ट्रबेरीका बिरुवाले उत्पादन दिन थालेको जानकारी दिनुभयो । “पाँच वर्षदेखि कृषि कर्ममा तल्लीन छु, नयाँ–नयाँ फलफूल तथा तरकारीको परीक्षण उत्पादनसमेत गर्दै आएको छु, यहाँ स्ट्रबेरीको राम्रो सम्भावना देखेँ, स्ट्रबेरी खेतीको विषयमा खोजी गर्दा तमानखोलामा यसको व्यावसायिक उत्पादन भएको पत्ता लगाएर आफूले समेत उक्त खेती यस वर्षदेखि थालेको हँु”, आचार्यले भन्नुभयो, “स्ट्रबेरी अन्य फलफूलभन्दा सजिलै उत्पादन गर्न सकिने र राम्रो मुल्य पाउने देखियो, अर्को वर्ष अझै बृहत तरिकाले उत्पादन गर्ने लक्ष्यमा छु ।रासस