प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताउनुभएको छ । । बाइसौँ सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान विश्व परिभेषलाई मूल्याङ्कन गर्दै बदलिँदो अपराधको चरित्रजस्ता सुरक्षा चुनौतीलाई सामाना गर्नका लागि आवश्यक रणनीति बनाइ सोहीअनुसार परिचालित हुन सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो । प्रधानमन्त्री दाहालले अपराधलाई निरुत्साहित गर्दै नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनीतिक लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दारी र प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । मुलुकको राजनीतिक सङ्क्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रधानमन्त्री दाहालले प्राकृतिक एवं मानव सिर्जित विपद्मा सशस्त्र प्रहरीले कर्तव्यनिष्ट भएर काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले नेपालको सीमा सुरक्षामा ‘डेडिकेटेड’ सुरक्षा फौजको रुपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक एवं वातावरण प्रतिकूलता र सीमित पूर्वाधारका बाबाजुद राष्ट्र सेवाको भावनासहित परिचालित सशस्त्र प्रहरीलाई विशेष धन्यवाद र आभार व्यक्त गर्नुभयो ।रासस