सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी पढाइसँगै कृषिमा पनि आबद्ध भएका हुन् । कृषिमा आबद्ध उनले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका छन् भने विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा-आमालाई पनि सिकाउन पाएका छन् । “विद्यालयमा कृषिको आधुनिक सीप बुवाआमालाई पनि सिकाइरहेको छु”, उनले भने, “अहिले उहाँहरु पनि व्यावसायिक कृषि गरिरहुनभएको भने यसले उत्पादन पनि बढाएको छ ।” सुदीपजस्तै विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममार्फत् कृषिमा आबद्ध भएका छन् । साथै अभिभावकलाई पनि कृषिसम्बन्धी आधुनिक सीप सिकाएर आत्मनिर्भर हुन प्रेरेरित गरिरहेका छन् । “हामीले कृषिसँग सम्बन्धित प्राविधिक ज्ञान व्यवहारमा पनि लागू गरेका छौँ”, कक्षा ९ कि स्मृति रानाले भनिन्, “विद्यालयमा सिकेको कृषि उत्पादन गर्ने तरिका घरमा गएर सिकाउँछाँै । यसले प्राविधिक ज्ञानसमेत सिक्न पाएका छौँ ।” पहिले परम्परागत तरिका अपनाउँदा तरकारी किनेर खानुपर्ने बाध्यता आधुनिक तरिका अपनाएपछि हटेको रानाको भनाइ छ । विद्यार्थीले ‘पढ्दै कमाउँदै कार्यक्रम’मार्फत् कृषि तथा पशुपालन गर्दै आएका छन् । जुन नेपालकै पहिलो नमूना कार्यक्रम हो । त्यसबाट हुने आम्दानी विद्यार्थी आफ्नो शिक्षामा खर्च गर्दै आएका छन् ।रासस