पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलु खेती गरेका हुन् । कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत गरेर रु पाँच लाखको लगानीमा आलु खेती गरिएको परिवर्तन कृषक समूहका अध्यक्ष मणिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ३५ जनाको समूह बनाएर आधुनिक पद्धतिबाट व्यावसायिक आलु खेती गरिएको न्यौपानेले बताउनुभयो । विगत वर्षमा थोरै जमिनमा पुरानै तरिकाले आलु खेती गर्दा खासै प्रतिफल आउने नगरेको बताउँदै समूहकी कोषाध्यक्ष कुन्तिकला अधिकारीले यस पटक सामूहिक रुपमा कृषि प्राविधिकको सहयोगमा आधुनिक तरिकाले आलु खेती गरिएकाले राम्रो प्रतिफल पाउने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको अनुदानमा सामूहिक रुपमा खेती गरिएपछि कृषि प्राविधिकको सहयोग पनि राम्रो पाएको उहाँको भनाइ थियो । सामूहिक रुपमा उत्पादन गरिएको आलु स्थानीय बजारमै बिक्री गरिने समूहको तयारी छ । अहिले किसानले आलु गोडमेल गरिरहेको समय भए पनि स्थानीय व्यापारी आलु खरिदका लागि अग्रिम सम्पर्कमा आउने गरेका समूहका अध्यक्ष न्यौपानेले बताउनुभयो । जिल्ला सदरमुकाम कावासोती बजारबाट करिब दुई/तीन किलोमिटरको दूरीमा उत्पादन गरिएको आलुले सहजै बजार र राम्रो मुल्य पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।रासस