नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो । स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उहाँको भनाइ छ । “नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ”, उहाँले भन्नुभयो, “मापदण्डमा रहेको सूचाङ्कका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।” शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।रासस