नुवाकोटका १२ स्थानीय तहमध्ये विदुर नगरपालिका, किस्पाङ र म्यागङ गाउँपालिकाले जग्गा वर्गीकरण गरेका छन् । जग्गा वर्गीकरण भएसगैँ गत जेठदेखि रोकिएको कित्ताकाट खुला भएको छ । गत मङ्सिर २२ गतेसम्मको समयसिमा तोकिए पनि जिल्लाका बाँकी पालिकाले भने जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको काम रोकिएको छ । किस्पाङ र म्यागङ गाउँपालिकाको ‘स्थानीय भू–उपयोग परिषद्’ मार्फत सिफारिस भएको जग्गाको वर्गीकरण स्वीकृत भएको मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत होमनाथ सेढाइँले जानकारी दिनुभयो । विदुर नगरपालिकाको सिफारिसमा केही ‘प्राविधिक पक्ष’ सुधार गनुपर्ने भएकाले सच्याउन एक साताको समय दिइएको छ । कार्यालयलाई प्राप्त निर्णयपत्रका अनुसार किस्पाङ र म्यागङको जग्गा वर्गीकरण विस्तृतमा उल्लेख भएसगैँ कित्ताकाट खुला भएको जानकारीको पत्र शुक्रबार पठाइएको सेढाइँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदुर नगरपालिकाको वर्गीकरण पनि सन्तोषजनक छ । तर, जिल्ला सदरमुकाम भएको पालिका भएकाले जग्गाको कारोबारको चापको आधारमा कित्ताकाट गर्न सहजताका लागि थप स्पष्ट बनाउन एकसाताको समय दिएर सच्याउन सुझाव दिएका छाँै ।” जेठ अन्तिम सातादेखि रोकिएको कित्ताकाटको काम जग्गा वर्गीकरण गरेपछि सहज भएको छ । बाँकी नौ पालिकाले तोकिएको अवधिभित्र निर्णय गर्न नसक्दा बन्द रहेको कित्ताकाट कहिलेदेखि सुरु हुन्छ भन्नेबारे अनिश्चित छ ।रासस