गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो । समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा अवस्थित यहाँ वर्षमा पाँच महिना हिउँ हुन्छ । हिमपातको समयमा गाउँ मानव सम्बन्धबाट विच्छेद हुन्छ । एक सय ४२ घरपरिवार बसोबास गर्छन् यहाँ । सदरमुकाम बेनी बजारदेखि करिब दुईदिनको यात्रामा पुगिने गुर्जामा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका अवसर छन् । तर यसको सदुपयोग हुन सकेको छैन । जीविकोपार्जनको एउटै स्रोत भनेको पशुपालन र जडीबुटी हो । यहाँ बिखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुनलगायतका जडीबुटी र दुर्लभ मानिएको कार्ज स्टोन (सेतो ढुङ्गो) को खानी रहेको धौलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्याल बताउनुहुन्छ । यहाँका जडीबुटीको राम्रो माग रहेकाले प्रशस्त आम्दानी गर्न सकिने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । गुर्जागाउँको प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता पर्यटकका आकर्षण हुन् । वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “तर आवश्यक प्रचार गरिदिने माध्यम हामीले पाएनौ । नेताहरु चुनावपछि गाउँ विर्सन्छन । यहाँको विकासमा कसैको चासो छैन ।”रासस