कञ्चन छ दशकअघि झलारी बजार रहेको क्षेत्र घना जङ्गलका रुपमा रहेको थियो । दिउँसै बाटैमा बाघ चितुवा लगायतका हिंस्रक जनावर आँखाअगाडि नै देखा पर्दथे । वन क्षेत्र नजिकै एक मात्रै भारतीयले सञ्चालन गरेको मदिराको भट्टी थियो । “एक दुईजनाले हिँडेर त्यस ठाउँमा पुग्न डर लाग्थ्यो”, दुई दशक चार कार्यकाल झलारी गाउँ पञ्चायतको प्रधानपञ्च भएर सम्हाल्नुभएका ढक्कनबहादुर ऐरले भन्नुभयो, “त्यो बेलाको अवस्था हेर्दा झलारी बजार यस्तो रुपमा विकास होला भनेर सोचेकै थिएनौँ ।” उहाँका अनुसार २०१५ सालअघि आवश्यकताका सामान ल्याउन ब्रह्मदेव र भारतीय बजार टनकपुर पुग्नु पर्दथ्यो । गाउँका बासिन्दाले सल्लाह गरेर सामान ल्याउनका लागि समूह बनाउँथे । समूहमै सामान ल्याउनका लागि गाउँका बासिन्दा जान्थे । “महाकालीमा नाउ चल्थ्यो, नुन लगायतको सामान ब्रह्मदेव मण्डीमै पाइन्थ्यो”, उहाँले भन्नुभयो, “परिवारको वर्षभरिका लागि पुग्ने कपडाका लागि भारतीय बजार नै पुग्दथ्यौँ ।” राजा महेन्द्रले पूर्व पश्चिम राजमार्गको शिलान्यास गरेपछि यस क्षेत्रमा पनि विसं २०१८ मा सडक बन्न थाल्यो । “सडक खुलेपछि कहिलेकाहीँ भारतीय ट्रक बाँस बोक्नका लागि आउने गर्दथे, मौका मिले त्यसमै बसेर आवश्यकताका सामान ल्याउन भारत जाने गर्दथ्यौँ”, ऐरले भन्नुभयो, “नमिले पैदल हिँडेर पनि सामान ल्याउँथ्यौँ ।”