तिलासक्रायत पर्व(माघेसङ्क्रान्ति) मनाई सकिए पनि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाई’ को मौसम भने जारी छ । माघ १ गते तिलासक्रायत पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ । मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरीका ‘लाई’ (सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डू) बटार्ने (बनाउने) चटारो छ । गत आइतबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको सनेस (कोसेली) नातेदारहरुका घरमा पु¥याउने परम्परा धान्न त्यसको तयारीमा मिथिलानी (मिथिलाका नारी) को ‘लाई’ बटार्ने व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, फुपू , दोस्त (मित) र अन्य आफन्त कहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले मिथिलानी ‘लाई’ बनाउन व्यस्त देखिएका हुन् । “पर्व मनाइएपछि हामी कहाँ ‘लाई’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्न भएपछि सनेस पठाउनुपर्ने भएको हुँदा अहिले घरघरै यो कामले छोपेको हो”, भङ्गाहा–४ का ६५ वर्षीय रामप्रताप साह भन्नुहुन्छ, “यो सनेस भन्दा बढी सामाजिक÷पारिवारिक वास्तासँग जोडिएको परम्परा नै बन्यो, एक प्रकारले हाम्रो मैथिल संस्कृति नै बन्यो ।”रासस