नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुआती चरणमा आन्तरिक तयारीका कारण काम सुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फिल्डमा काम माघ १६ गतेबाट हुन्छ । अहिले आवश्यक मजदुर र उपकरण तयारी गर्ने काम भइरहेको छ ।” कामको सुरुआत केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने उहाँले बताउनुभयो । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस ट्रमिनल–गोन्द्राङ, केन्द्रीय बस ट्रमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम हुनेछ । रु एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको छ ।रासस