हरेक वर्ष माघ २ गते साँझदेखि ३ गते युवा समूहमा हातमा डम्फु बजाउँदै र खरानी दल्दै हिँड्छन् । त्यो समूहमा कोही थाग्नाभोक्टा लगाएका, कोही मुखुण्डो लगाएका हुन्छन् । यो दृश्यले धेरैलाई अचम्मित बनाउँछ । माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गतेसाँझ खोलामा नबगाउँदासम्म उनीहरुलाई बोल्न र खरानी छर्न छुट हुन्छ । यसलाई स्थानीयले कापै खेल्ने अर्थात् फागु हाल्ने भन्छन् । माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेटा, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै बनेका उनीहरु दिनभर नाच्छन् । त्यसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । यो नाच कहिलेदेखि नाच्दै आएको भन्ने यकीन छैन तर स्थानीय वर्षौं पहिलेदेखि नाच्दै आएका छन् । माघ २ र ३ गते प्रदर्शन हुने यी संस्कृति छुट्टाछुट्टै भए पनि एकैदिन, एकैसाथ नाचिन्छ । माघ ३ गते त्यहाँ एउटा अचम्मको दृश्य देखिन्छ । एउटा मानिसलाई स्थानीयले अनुहार नचिनिने गरी कपडाले मुख बाँधेका हुन्छन् । त्यसलाई पशुलाई जस्तै दाम्लोले बाँधेर डो¥याइन्छ । बेलाबेलामा त्यसमाथि खरानी हाल्दिन्छन् । त्यो व्यक्ति मदिराले लठ्ठ परेको हुन्छ । त्यसलाई स्थानीय भालुको पित्त देखाउने संस्कृति भन्छन् । सोही दिन दिउँसो तरबार समाएका केही व्यक्ति नाच्छन् । त्यसलाई स्थानीय पट्टा नाच भन्छन् । पुतली नाच, पट्टा नाच, कापै नाच र भालुको पित्त देखाउने संस्कृति एकैदिन प्रदर्शन गरिन्छ ।रासस