सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको हो । बर्दिबास अस्पतालले बुधबारमात्रै विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको सेवा थपेको छ । अस्पतालले जनरल ओपिडी सेवा, इमर्जेन्सी सेवा र प्रसूति तथा महिला रोग सेवा दिँदै आएको थियो । यी सेवामा जनशक्ति अभावले उपचार प्रभावित हुँदै आएको थियो । अब बर्दिबास नगरपालिकाले दक्ष जनशक्ति थप गर्दै हाडजोर्नी तथा नसा रोग, शल्यक्रिया, नवजात शिशु स्याहार, दाँत, मुख तथा गिँजासम्बन्धी समस्या, ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, स्वास्थ्य बीमासहितको सेवा विस्तार गरेको छ । अस्पतालले ज्येष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा, परिवार नियोजन, सुरक्षित गर्भपतन, किशोर–किशोरी, क्षयरोग उपचार, परामर्श तथा प्रेषण, सम्पूर्ण शरीरको जाँचसहितका सुविधा बढाएर नियमित गर्न लागेको छ । “अस्पतालका सेवा गुणस्तरीय र नियमित बनाउने भएपछि आफ्नै ठाउँमा उपचार गर्न सहज हुने आश जगाएको छ”, बुद्धचोकका उमेश आचार्य भन्नुहुन्छ । बर्दिबास नगरपालिका, अस्पताल व्यवस्थापन समिति र समुदायको राम्रो साथ रहेकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जन बताउनुहुन्छ । अस्पतालले अत्यावश्यक सेवा थपेर सोअनुसारको भौतिक र दक्ष जनशक्तिको व्यवस्थापन गरेपछि यस भेगमा सर्वसुलभ उपचार सेवा पाउने आश बढेको छ ।रासस