“टाउकोभरि ठूला–ठूला फोका छन् । फोका बर्सेनि बढ्दै आइरहेका छन्”, खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भन्नुभयो, “ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको छ ।” अठार वर्षको उमेरदेखि समस्या झेल्दै आउनुभएका तिवारी आफ्नो टाउको र शरीरको ऐजेरु हट्ने भएपछि खुसी हुनुभए पनि उपचारमा लाग्ने खर्चको अभावमा निरास हुनुहुन्छ । “उपचार त हुने भयो तर पैसा कसरी ल्याउने भन्ने पिर लागिरहेको छ”, उहाँले भन्नुभयो, “मेरो शल्यक्रिया यही माघ १८ गते वीर अस्पतालमा हुने भयो । तपाईँहरुले सहयोग गरेकै पैसाले अस्पतालसम्म आएको छु । अब फेरि सहयोग गरेर मलाई निको बनाइदिन सबैसँग अनुरोध गर्दछु ।” बिहान÷बेलुकी हातमुख जोड्नसमेत धौ–धौ पर्ने तिवारीको उपचारमा आर्थिक अभाब भएकोे खबर सामाजिक सञ्जालमार्फत थाहा पाएपछि देश÷विदेशबाट केही सहयोग भएको छ । उहाँको खातामा रु ६०÷७० हजार जम्मा भएपछि अहिले उपाचारका लागि काठमाडौँ पुग्नुभएको हो ।रासस