वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको छ । साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उहाँ उपचारपछि स्वास्थ्यलाभ गरेपछि तरकारी खेतीमा लाग्नुभएको हो । दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेबिया गएका उहाँलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् । “विदेशमा छदा बिरामी परे”, उहाँले भन्नुभयो, “घर फर्केपछि उपचार गरे, निको भएपछि घरमै खाली बस्नुभन्दा तरकारी खेतीमा लागे, बुबाले थोरै जग्गामा तरकारी खेती गर्नुहुन्थ्यो, त्यसलाई विस्तार गरी व्यावसायिक बनाए ।” सुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे । हाल डेढ बिघा जग्गामा उहाँले तरकारी रोप्नु भएको छ । चौधरीको बारीमा काउली, बन्दा, गोलभँेडा, बेमौसमी काँक्रा, स्कुस, आलु र हरियो तरकारी रोपिएको छ । वर्षभरिनै तरकारी खेती गर्दै आएका चौधरीको वार्षिक आम्दानी रु १० लाख बढी रहेको छ । वर्षमा उहाँले रु १५ लाख जतिको तरकारी बेच्नुहुन्छ ।रासस