अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’ विषयक सम्मेलनमा उहाँहरुले सम्बन्धित विज्ञको व्यवस्थापनबाट नै स्वास्थ्य सेवालाई प्रभाकावरी बनाउन सकिनेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले व्यवस्थापन क्षेत्रका अब्बल जनशक्तिको परिणाममुखी कामबाट नै स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सन्र्दभमा सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले पर्यटनको विकासका लागि नेपालमा पर्यटनका सम्भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकमा रहेको सेवाभावलाई अवसर ठानेर नेपाललाई स्वास्थ्य क्षेत्रको हबका रुपमा समेत विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाप्रति नबुझेर केही नकारात्मक टिप्पणी हुने गरेको गुनासो गर्दै वास्तविकता त्यस्तो नभएको स्पष्ट पार्नुभयो ।रासस