सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो । विसं २०४८ मा पोखरा–बागलुङ सडक विस्तार भए पनि अहिलेसम्म बसपार्क नहुँदा यात्रु तथा सवारी चालक समस्यामा थिए । सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता गरी बसपार्क निर्माण सुरु भएको हो । रु सात करोड १० लाख ३० हजारको लागतमा बसपार्क निर्माण गर्न लागिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा स्याङ्जाको विजय सिद्धबाबा निर्माण सेवा कम्पनीले पाएको छ । गत कात्तिकमा ठेक्का सम्झौता भएको योजनाको अवधि आगामी असोज मसान्तसम्म छ । करिब १२ रोपनी १२ आना क्षेत्रफलमा बसपार्क निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।रासस