झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गतवर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार नौ सय ८५ हेक्टरमा सो खेती गरिएको छ । गतवर्ष जिल्लामा दुई लाख ५७ हजार दुई सय २४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उहाँको भनाइ छ । क्षेत्रफलसँगै यसवर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । जिल्लाका स्थानीय तहले आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो । जिल्लाको बुद्धशान्ति , कमल , गौरीगञ्ज गाउँपालिका सहित अर्जुनधारा र बिर्तामोड नगरपालिकालगायतका पालिकाले आलु खेतीका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका छन् । बिर्तामोडले विगत तीन वर्षयता आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । किसानलाई आलुको बीउ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले बताउनुभयो ।रासस