आफुलाई नेपाल प्रहरीको ‘सिआइडी’ हौँ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूहलाई महोत्तरीको बर्दिबासमा प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ । सर्लाहीको हरिऔनका राहुल महतोलाई एक साताअघि प्रहरीको ‘सिआइडी’ हौँ भन्दै धाकधम्की लगाई लुटपाट गर्ने छ जनालाई पक्राउ गरी अदालती प्रक्रियाअनुसार कारवाही बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो । आफुलाई प्रहरीको ‘सिआइडी’ हौँ भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने समूहका बर्दिबास–१४ का २२ वर्षीय निरज साह, गुड्डु भनिने २२ वर्षीय पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम लामा, बर्दिबास–१२ चल्कीटोलका शैलेन्द्र राउत र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका १९ वर्षीय दीपक राउतसहित छ जनालाई पक्राउ गरी कारवाही बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । पक्राउ परेका छ जनालाई नै हिजो मङ्गलबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानको म्याद लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासले आज जनाएको छ । गत पुस २८ गते बिहीबारका दिन मध्याह्नकै समयमा पूर्वपश्चिम राजमार्गको बर्दिबास–४ माइस्थान वनक्षेत्रबाट सर्लाहीको हरिऔनका बासिन्दा राहुलले आपूmलाई घेरा हाली कब्जामा लिएर भित्री जङ्गलमा पुर्याएर प्रहरीका ‘सिआइडी’ हौँ भन्नेले मोटरसाइकल चोरीका घटनामा फसाइदिने धम्की दिँदै निकोन–३५०० क्यामेरा, रेड्मी मोबाइल, स्क्रिन टच टुकटुके मोबाइल, हातमा बाँधेको घडी र चाँदीको ब्रासलेट एक/एक थान र नगद रु ७५ हजार लुटपाट गरेको जाहेरी दिएलगत्तै खोजी गर्दा आरोपीलाई क्रमशः पक्राउ गरी हिजो अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।रासस