ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो । रक्षा मन्त्रालयका अनुसार यसैवर्षको मध्यतिर करिब दुई सय महिलालाई ताइवानको सेनाले तालिम दिनेछ । बाह्य आक्रमाणको जोखिम बढेकाले आफ्नो सेनालाई बलियो बनाउने प्रयासमा महिलालाई पनि प्रशिक्षणको व्यवस्था गरिएको उक्त मन्त्रालयले जनाएको छ । इच्छुक महिलाले तालिमका निम्ति आवेदन गर्न सक्नेछन् । तालिमा सहभागी हुने महिलाको सङ्ख्याअनुसार प्रशिक्षण योजना र कार्यक्रम तर्जुमा गरिनेछ । हालै ताइवानले पुरुषलाई अनिवार्य सैन्य सेवा गर्नुपर्ने प्रावधान जारी गरेको छ । यद्यपि महिलाहरू पनि सशस्त्र बलमा स्वयम्सेकका रूपमा सेवा गर्न सक्ने व्यवस्था छ । ताइवानी पुरुषले अनिवार्य सैन्य सेवा गर्नुपर्ने चार महिनाको प्रावधानलाई बढाएर एक वर्ष पु¥याएको छ । अमेरिकी रक्षा मन्त्रालयको अनुमानअनुसार ताइवानसँग ८९ हजार स्थल सेना छन् भने चीनसँग १० लाख सैनिक छन् ।रासस