खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित पशु बीमा कार्यक्रम केही वर्षदेखि रोकिएको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा पशु बीमा कार्यक्रम सुरु गरेको थियो । सुरुका वर्ष १७ बाख्रा र छ बङ्गुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६÷७७ देखि पशु बीमा नवीकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताउनुभयो । “एक वर्षको अवधिमा किसानले दुई बाख्राको बीमावापतको रकम पाएका थिए”, उहाँले भन्नुभयो, “कतिपय किसानले पशु बीमा दाबी गर्न आउँदा नवीकरण नगरेको पाइएपछि रित्तो फर्काउने गरेका छौँ ।” सङ्घीय सरकारको केन्द्रीय कार्यक्रमअनुसार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभावमा बीमा नवीकरण गर्न नसकेको बताइएको छ । बीमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु बीमा गर्न सहयोग गरिएको शाखा प्रमुख राजभण्डारीले बताउनुभयो ।रासस