हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौँबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको काठमाडौँ र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ । चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ । राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक उडान भर्ने भएको छ । चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । अब चीनको चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, बेइजिङ क्यापिटल एयरलाइन्ससँगै हिमालय एयरलाइन्सले पनि उडान सुरु गरेको हो । तीमध्ये हिमालयले हाललाई साताको एक पटक काठमाडौँबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ । अब ती उडानबाट बेइजिङ हुँदै हवाई यात्रु युरोप, अमेरिका, एसिया र अष्ट्रेलियाका विभिन्न मुलुुकमा जानसक्ने छन् ।रासस