जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ । जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सक थप गर्दै अस्पतालले नयाँ सेवा विस्तार गरेको जनाएको छ । थपिएका सेवामा हाडजोर्नी तथा नशाको रोगको बहिरङ्ग (ओपिडी) तथा शल्यक्रिया, जनरल सर्जरी बहिरंग , जनरल सर्जरीसम्बन्धी शल्यक्रिया र एनेस्थेसिया (शल्यक्रिया गर्दा विरामी बेहोस् बनाउने) छन् । पचास शय्या सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भएपछि अस्पतालले आन्तरिक स्रोतबाट नयाँ चिकित्सक भर्ना गरेर सेवा विस्तार गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार आन्तरिक स्रोतबाट चिकित्सकहरू नियुक्त गरी नयाँ सेवा विस्तार गरिएको हो । अस्पतालले गत महिनाबाट विशेषज्ञ चिकित्सक जनरल सर्जरीतर्फ डा प्राञ्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोगतर्फ डा देउमान लिम्बू र एनेस्थेसियोलोजिस्ट डा गणेश वनलाई नियुक्त गरेको जिसस प्रमुखआङ्देम्बेले जानकारी दिनुभयो । जिल्ला अस्पतालले हाल आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, प्रसूति सेवा, अन्तरङ्ग सेवा, दन्त रोग सेवा, मातृ शिशु र खोप सेवा, सरुवा कीटजन्य तथा महामारी रोग सेवा, क्याबिन सेवा, आँखाको बहिरङ्ग सेवा र एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । यस्तै कार्यक्रम सेवाका रूपमा यस अस्पतालले निःशुल्क नवजात शिशु सेवा, निःशुल्क प्रसूति सेवा, स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा सेवा, लैङ्गिक सङ्कट व्यवस्थापन एकद्वार सेवा र निःशुल्क गर्भपतन सेवा सञ्चालन गरिरहेको छ । यस्तै बाल रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनलाई निरन्तरता दिने प्रयास भइरहेको जिससप्रमुख आङ्देम्बेले बताउनुभयो ।रासस