आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको पुख्र्याैली गाउँ शोकमा डुबेको छ । इमान्दार र सहयोगी गाउँले गुमाउनुपर्दा गाउँका सबैका आँखा रसाएका छन् । कास्कीको रुपा गाउँपालिका–३ पोल्याङमा रहेको पुख्र्यौली घरमा रहनुभएकी कान्छी आमा ७९ वर्षीया देवीलाई सान्त्वना दिन गाउँलेहरु भेला हुने गरेका छन् । गत दसैँको अष्टमीको दिन पोल्याङमा परिवारका सबै भेला भई रमाइलो गरिएको नै अन्तिम भएको कान्छी आमा देवीले बताउनुभयो । “दसैँमा सबै जना जमघट भएर निकै रमाइलो गरिएको थियो । कमलले गाउँलेहरुसँग पनि भेटघाट गरेका थिएँ”, उहाँले भन्नुभयो, “अब सम्झिनुबाहेक केही रहेन । यो जन्ममा यत्तिकै हुने भो ।” घरधन्दामा व्यस्त रहेको आफूलाई नाताले बुहारी पर्ने स्थानीय अप्सरा केसीले कमलले चलाएको जहाज दुर्घटनामा परेको भनेपछि रोएरै दिनरात बिताएको देवीले जानकारी दिनुभयो । दुर्घटनामा देवर गुमाउनुको पीडाले आफूहरुलाई काम गर्ने उत्साह पनि नआएको अप्सराले बताउनुभयो । “यसरी अकालमा कोही पनि मर्न नपरोस्”, उहाँले भन्नुभयो, “हामी जस्तै धेरैको परिवार शोकमा पर्नुभएको छ । सबैको आत्माले शान्ति पाओस् ।” सानैदेखि पढ्नमा चलाख र मिजासिला स्वभावका कमलले स्थानीय जनता मावि (तत्कालीन महेन्द्रज्योति प्रावि)मा कक्षा ४ देखि ५ सम्म पढ्नुभएको थियो । त्यसअघि कमल कास्कीकै फल्याङकोटमा पढ्नुहुन्थ्यो । जनता माविबाट कक्षा ५ पूरा गरेपछि थप शिक्षाका लागि कमल काठमाडौँ हानिनुभएको थियो। रासस