नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ । टानका महासचिव विनोद सापकोटाले एक विज्ञप्ति जारी गरी माघ १ गते आइतबार बिहान १०ः३२ बजे काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर-७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताउनुभयो । “कोरोना भाइरसको महामारीबाट भर्खरै तङ्ग्रिँदै गरेको नेपालको पर्यटन क्षेत्रमा हवाई दुर्घटनाले अपूरणीय क्षति पुगेको छ”, टानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरामै भएको दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र नभइ देशको समग्र पर्यटन क्षेत्रमा नै ठूलो धक्का लागेको महासचिव सापकोटाले बताउनुभयो । टानका अध्यक्ष निलहरि बाँस्तोलाले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्वपूर्ण कदम चाल्ने बताउनुभयो । आगामी दिनमा यस्ता दुर्घटना कसरी कम गर्न सकिन्छ भन्नेबारे राज्यको जिम्मेवार निकायले गहनरुपले सोचेर कदम चाल्ने उहाँको भनाइ थियो ।रासस