थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ । विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताउनुभयो । “भुवर भवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।” माघी पर्वको अवसरमा प्रत्येक वर्ष लाग्दै आएको मेलालाई यसपटक महोत्सवको रुपमा सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिनुभयो । उहाँका अनुसार, माघी मेलामा यो वर्ष राष्ट्रियस्तरका ख्यातिप्राप्त थारु कलाकारको कला प्रस्तुति रहने छ । यस वर्ष नयाँ अभ्यासको रुपमा छुट्टै स्टल राखेर थारु गाउँ सञ्चालनमा ल्याइएको छ । मेलामा करिब पाँच सय स्टल राखेर महोत्सवकै रुपमा सञ्चालन भएको छ । माघी पर्वका अवसरमा सञ्चालन भएको माघी मेलामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको भुवर भवानी मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गरेको मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारुले बताउनुभयो ।रासस