कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग हुनुभयो । डेढ दशक भारतमा मजदुरी गर्दै आउनुभएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । उहाँले सुरुआतमा रु २० लाख लगानीमा सुदूरपश्चिम मसला उद्योग सञ्चालनमा ल्याउनुभयो । “भारतमा मजदुरी गरेर घरखर्च चलाइराखेको थिए, दुर्घटनामा परेर यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो,” धामीले दुखेसो गर्नुभयो, “तैपनि हरेस नखाएर परिवारको खर्च टार्न उद्योग सञ्चालनमा ल्याएको छु ।” उहाँले बैंकबाट ऋण लिएर उद्योग सञ्चालन गर्नुभएको हो । स्वदेशमै उद्योग सञ्चालनमा ल्याए पनि भारतीय मसलाहरुका कारण बजारमा प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको बताइएको छ । “भारतबाट मिसावटका मसलाहरूले यहाँको बजार प्रभावित गरेको छ”, धामी थप्नुहुन्छ, “व्यापारी तथा उपभोक्ताले गुणस्तरको स्वदेशी मसला उपभोग गर्नुभन्दा सस्तो हेर्ने गरेका छन ।” सुरुआती अवस्थामा निकै सङ्घर्ष गर्नुपरेको अनुभव उहाँसँग छ । शारीरिकरूपमा अशक्त भए पनि उहाँ बजारमा तीन पाङ्ग्रे स्कुटर लिएर आफैँ निस्किनुहुन्छ । “अरूको देशमा कति दुःख गर्ने आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले उद्योग चलाएको हुँ”, धामीले भन्नुभयो, “यहाँ स्थानीय उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न धेरै चुनौती छ ।”रासस