काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनबीच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, शैक्षिक कार्यक्रम सञ्चालन तथा विज्ञ÷विशेषज्ञ आदानप्रदानका लागि सहकार्य हुने भएको छ । सम्झौताअनुसार सनातन वैदिक दर्शन, सभ्यता संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पौरस्त्य भाषा, संस्कृति, साहित्य, रीतिथिति, परम्परा आदि विषयमा आवश्यक अध्ययन अनुसन्धान गराउन लागिएको हो । यसका लागि प्राज्ञिक पक्षमा विश्वविद्यालय र आध्यात्मिक सनातन वैदिक पक्षमा फाउण्डेसनले सहकार्य गर्नेछन् । वैदिक वाङ्मय, संस्कृत लगायत प्राचीन भाषा र लिपिमा थप अध्ययन, अनुसन्धान गर्न र अन्तर्राष्ट्रियकरण गरी संरक्षणसमेत गर्न विशेषज्ञ अनुसन्धानदाता आदान प्रदान गरिने भएको छ । योग, वैदिक यज्ञ, प्राकृतिक चिकित्सा, आयुर्वेद, औषधि चिकित्सा र परम्परागत उपचार पद्धतिमा आवश्यकताअनुसार संयुक्त अध्ययन र अन्वेषणात्मक कार्य गरिनेछ । फाउण्डेसनसँग आबद्ध विश्वका विभिन्न विश्वविद्यालय, शिक्षण संस्था, अनुसन्धान केन्द्र र काठमाडौँ विश्वविद्यालय तथा मातहतका निकायसँग पारस्परिक सहकार्यको वातावरण निर्माण गरिने सम्झौतापत्रमा उल्लेख छ । आवश्यकताकअनुसार दुवै स्थानमा समानस्तरका परिपूरक शैक्षिक एवं अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि सम्बन्धित शिक्षक विद्यार्थी आदानप्रदान गरिनेछ ।रासस