कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन क्षेत्रमा पर्ने रूख कटानीलगायत पक्रियामै अल्ँिझदा आयोजना सुरु भएको एक दशक बित्दासमेत हालसम्म जिरो प्वाइन्टको ट्र्याक पनि खुलाइएको छैन । राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि पर्याप्त बजेट र वन क्षेत्रमा पर्ने रूख कटानी समयमै हुन नसक्दा सन्तोषजनकरूपमा काम हुन नसकेको हो । विसं २०६६ देखि सुरु भएको करिडोर १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमा कालोपत्र मात्रै भएको छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण गरिनेमा तीन सय ३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७२ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । उहाँले लोकमार्गको कञ्चनपुर, डडेल्धुरा र बैतडीमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिनुभयो । “आयोजनाको शून्य विन्दु (ब्रह्मदेव क्षेत्र) बाट काम सञ्चालन हुनसकेको छैन”, प्रमुख जोशीले भन्नुभयोे, “शून्यविन्दुको ११ किलोमिटर सडक वन क्षेत्रमा पर्छ त्यो क्षेत्रमा रूख कटानी आदेश नआउँदा ढिलाइ भएको हो ।”रासस