काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो । टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा समेत बिक्री वितरण हुँदै आएको बताउनुहुन्छ । टोखामा बर्सेनि झण्डै पाँच लाख चाकु उत्पादन हुने गर्दछ । टोखा चाकुको प्रसिद्ध सहर हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखु खेती हुने ठाउँका रुपमा चिनिन्छ । परम्परागत समयदेखि उखुबाट चाकु उत्पादन गरिने टोखामा उक्त व्यवसायलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै आएको छ । टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखामा उत्पादन भएको चाकु नेपालका विभिन्न सहरमा जाने भएकाले यसको माग व्यापक बढेको छ ।रासस