कैलालीको टीकापुर अस्पतालले हाडजोर्नीको समस्या भएका तीनदेखि चार बिरामीको दैनिक शल्यक्रिया गर्ने गरेको छ । अस्पतालमा गत वर्ष हाडजोर्नीको समस्या भएका पाँच सय ३७ जटिल तीन सय छ सामान्य खालको शल्यक्रिया गरिएको छ । अस्पतालमा यस वर्षको मङ्सिरसम्ममा दुई सय ३५ जटिल एक सय ३३ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । विगतमा साधारण शल्यक्रिया सेवा मात्र दिने गरेको अस्पतालले विगत दुई वर्षदेखि सर्जन चिकित्सकको सेवा दिँदै आएको छ । अस्पतालमा साधारणलगायत जटिल शल्यक्रियासमेत हुने गरेको छ । अस्पतालले हातखुट्टा भाँच्चिएका, कापका जोर्नी, जोर्नीको प्रत्यारोपण, मेरुदण्डको शल्यक्रिया, शल्यक्रियापछि किलाकाटा निकाल्ने, नसा काटिएका, घुँडाको जोर्नीको मेसिनका माध्यमबाट पनि शल्यक्रिया सेवा दिन थालेको छ । मेरुदण्डको शल्यक्रियाका लागि चिकित्सक नभएकाले नियमित गर्न नसकिएको अस्पतालले जनाएको छ । एमआरआइ सुविधा नभएकाले दूरबिनका माध्यमबाट हुने शल्यक्रिया गर्न समस्या भइरहेको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ तथा अस्पतालका प्रमुख रेमकुमार राईले जानकारी दिनुभयो । “एमआरआइ गर्न गएका अधिकांश बिरामी फिर्ता नआउने समस्या छ”, उहाँले भन्नुभयो, “अस्पतालमा सुत्केरी, पत्थरीलगायतको शल्यक्रिया सेवासमेत हुने गरेको छ । पित्तथैलीमा भएका पत्थरी र आन्द्राको शल्यक्रिया हुने गरेका छन् ।”रासस