खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका विष्ट परिवारले आफ्नो घर छोडेको करिब डेढ वर्ष हुन थाल्यो । गत वर्ष असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षापछिको पहिरो आउँदा विष्ट परिवारले रातारात भागेर ज्यान जोगाएको थियो । ढल्नै लागेका घरबाट सामान ओसार्दै नजिकै रहेको खापरदेव क्याम्पसको भवनमा आश्रय लिएका थिए उनीहरू । विष्ट टोलको आँगनदेखि वरिपरि पहिरोमय नै भयो । नौ परिवार रहेको विष्ट टोल भर्खरै बनेको क्याम्पसको भवनमा गयो । त्यहाँ पनि नअटाएपछि गुलेनीचौर, कालुखेती, चाकेगडा गएर पनि आश्रय लिए । त्यसयता चार परिवार भने अझै क्याम्पसकै दुईकोठे भवनमा आश्रय लिइरहेका छन् । “खेती गर्नलाई जमिन छैन । सानो–तिनो मजदुरी गरेर पेट पालिरहेका छौँ”, भरत विष्ट दुःखेसो पोख्नुहुन्छ । आफ्नो अवस्था देखाएर धेरै निकायलाई गुहार्दा पनि कसैले कुनै सहयोग नगरेको उहाँको गुनासो छ । “दर्जनौँ सङ्घसंस्था, सरकारी निकायलाई गुनासो पोख्दा पनि कसैले पनि चासो देखाएनन् । अहिले त कसैलाई पीडा सुनाउन पनि औचित्यहीन लाग्छ”, उहाँले भन्नुभयो । पहिरो आएको दिन सम्झँदै भरतकी श्रीमतीले भन्नुभयो, “त्यो दिन त सम्झँदा पनि शरीर काँप्छ । मेरो त सातो उडिसकेको थियो । धन्न भाग्न सफल भयौँ । उतिबेला पहिरोबाट ज्यान त बचाइयो तर अहिले भोकभोकै मरिने अवस्था आयो ।”रासस