गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबमोजिम यहाँका दुई विद्यालय ‘विद्यालय नर्स’ कार्यक्रमका लागि छनोट भएका हुन् । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्ग माध्यमिक विद्यालय यो कार्यक्रमका लागि छनोट भएका मन्त्रालयका निमित्तसचिव उदयबहादुर पराजुलीले बताउनुभयो । दुवै विद्यालयमा स्टाफ नर्स (पाँचौँ तह)को दरबन्दी थप गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले आन्तरिक स्रोतबाट रामशाह माविमा नर्सको व्यवस्थापन गर्दै आएकामा स्थायीरूपमा नर्सको दरबन्दी भएपछि सहज हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकाले सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको विद्यालयबाट नर्स कार्यक्रम सुरुआत गरेको थियो । रामशाह माविमा करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नर्स भएपछि विद्यार्थीको स्वास्थ्यको ख्याल गर्नका लागि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य सचेतना दिनेलगायतका कार्यक्रम गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताउनुभयो । बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने भएकाले स्वास्थ्य समस्या पर्दा उपचार नहँुदा समस्या पर्न सक्ने भएकाले यो सुविधा प्रभावकारी हुने विश्वास गरिएको छ । नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा समेत परामर्श दिने जनाइएको छ ।रासस