महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले आज पत्रकार सम्मेलन गरी बनेपा नगरपालिका–४ नालामा निर्माण गरिएको १० अवतारसहितको ब्रम्हाको प्रतिमा उद्घाटन गरिने जनाएको छ । उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आगामी शनिबार यहाँ आउनुहुने आयोजक समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताउनुभयो । धार्मिक पर्यटन प्रवद्र्धन गर्न निर्माण गरिएको उद्यानमा नेपालमा नै पहिलो पटक ३० फिट अग्लो १० अवतार सहितको चतुरायण ब्रम्हाको प्रतिमा र मन्दिर निर्माण गरेको उहाँले बताउनुभयो । विसं २०७५ माघमा दर्ता भएको सो संस्थाले विसं २०७१ मङ्सिरमा महादेवस्थानको बृहत्तर विकास तथा रुद्रयाग शैव महायज्ञ आयोजना गरी पहिलो चरणमा सोही क्षेत्रको संरक्षण, प्रवद्र्धन गर्न महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य संरचना निर्माण गरी दोस्रो चरणमा ३० फिट अग्लो १० अवतारसहितको चतुरायण ब्रम्हाको प्रतिमा, मन्दिरका साथै उद्यान निर्माण गरेको समाजका अध्यक्ष सापकाले बताउनुभयो । “९१ रोपनी सार्वजनिक जग्गामा रहेको सो क्षेत्रमा संरचना तयार गर्न समुदायस्तरबाट ठूलो धनराशि सङ्कलन गरेर काम सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “एक करोड २० लाख ५० हजार लागतमा उद्यान निर्माण गरेका हौँ ।” विशेषगरी ‘नालाको शान, धार्मिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ नालालाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ब्रम्हा उद्यान’ निर्माण गरेको उहाँले बताउनुभयो । समाजले पछिल्लो समयमा सो क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना तयारी गरी तेस्रो चरणमा सो क्षेत्रमा दृश्यावलोकन स्तम्भसहितको बाटिका निर्माण गर्ने बताइएको छ । चौथो चरणमा युवा जगतलाई लक्षित गरी खेल मैदान निर्माणलगायत योजना तयार गरी नगरपालिकामार्फत प्रदेश सङ्घ सरकारसमक्ष बजेट माग गर्ने प्रक्रियामा रहेको महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजका सचिव श्याम सापकोटाले बताउनुभयो ।रासस