कृष्णपुर नगरपालिका–६ का वीरबहादुर राजवंशी निकै व्यस्त हुनुहुन्छ । माघी पर्व आउन केही दिनमात्रै बाँकी रहँदा उहाँको व्यस्तता बढेको छ । सुँगुरको व्यवस्था मिलाउने, कुटानी पिसानी गर्ने र तोरीको तेल पेल्ने काममा उहाँ लाग्नुभएको छ । “माघी पर्वमा पाहुनालाई सत्कार गर्न आवश्यक सामग्रीको जोहो गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “महिला सालका पात टिप्ने र दुना टपरी बनाउने, दाउरा ल्याउने, माछा मार्ने काममा लागेका छनु ।” गुलियो जाँड बनाउने, घरमै मदिरा बनाउने, माघीमा पाहुनालाई पस्किने परिकार ढिक्री बनाउनका लागि चाहिने वस्तुको जोहोमा महिला बेफुर्सदिला भएको उहाँले बताउनुभयो । पुसको अन्तिम दिनदेखि माघी पर्व सुुरु भइसक्ने भएकाले त्यसअघि नै पूर्वतयारीमा जुटेको उहाँको भनाइ छ । “वर्षभर गरिने कामको समीक्षा गर्न पूर्वतयारी थालेका छौँ”, उहाँले भन्नुभयो, “वर्षभर गर्ने कामको लेखाजोखा गरी पारिवारिक योजना माघीमा तयार गरिन्छ, त्यसैअनुरुप वर्षभर काम गरिन्छ ।” दिदीबहिनी, आफन्त र इष्टमित्रलाई माघी पर्वमा सहभागी हुनका लागि निम्ता दिने कार्य सुरु भएको उहाँले बताउनुभयो । माघी पर्वमा आयोजना हुने नाचका लागि मादलको व्यवस्थासँगै नाच्ने युवायुवतीको समूह निर्माणका लागि छलफलको कार्य गरिसकिएको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद डगौराले बताउनुभयो । “नाच टोली गठन गरी नृत्यका लागि तयारी गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “गाउँको सामूहिक कार्यका लागि कुन–कुन योजना बनाउने भन्नेबारे पूर्वतयारी छ।रासस