नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७९/८० का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट महेशकुमार गुरागाईं र पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ । सोही अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै कोभिड–१९ को महामारी तथा त्यसको प्रभाव र असरकाबीच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्नुभयो ।रासस