यस वर्षको २५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने भएको छ । आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन काठमाडौँ महानगरपालिकामा आज भएको छलफलका क्रममा व्यवस्थापन उपसमितिको बैठकले उक्त निर्णय गरेको हो । छलफलका क्रममा नगर उपप्रमुख सुनिता डङ्गोलले दिवसको अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले वर्षैभरि सञ्चालन गर्ने जनाउँदै विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर जानकारी दिइने बताउनुभयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मानिसले भूकम्प बिर्सिदै गएर भवन संहिता पालनामा पनि लापर्वाही गर्न थालेको स्मरण गराउनुभयो । अनधिकृत संरचना आफैँ व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरिएको र अटेर गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाइने महानगरले जानकारी दिएको छ । यही पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले कामपाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको थियो । त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको थियो । बैठकले यस वर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ ।रासस