स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेकोे छ । लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दसकौँदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो । पटक–पटक गरी बरामद गरिएको यो परिमाणको रक्तचन्दन स्पष्ट कानुन नहुँदा के गर्ने भन्ने अन्योलका कारण सडेर खेर जाने अवस्थामा पुगेको छ । बरामद गरिएको रक्तचन्दन साबिक जिल्ला वन कार्यालयले संरक्षण गर्नुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा राखिएको छ । वन परिसरमा स्थान अभाव तथा हेरालु नहुँदा संरक्षण र सुरक्षाका लागि प्रहरीलाई जिम्मा दिइएको सहायक जिल्ला वन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिनुभयो । तस्करहरुले अवैधरुपमा लुकाईछिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले यो परिमाणको रक्तचन्दन बरामद गरेको थियोे । रक्तचन्दनबारे अझैसम्म पनि सम्बद्ध निकायले ठोस निर्णय नगरेकाले यस्तो अवस्थामा पुगेको हो । “यसबारे विभाग वा मन्त्रालयले निर्णय गर्नुपर्छ । हामीलाई अधिकार छैन”, उहाँले भन्नुभयो, “ बरामद गरिएका रक्तचन्दन संरक्षण गरिराख्नु भन्ने माथिबाट निर्देशन भएकाले हामीले संरक्षण मात्र गरिरहेका हौँ ।” रक्तचन्दन वनको स्वामित्वमा भए पनि ठाउँ अभावका कारण प्रशासन प्राङ्गणमा राखिएको छ । साबिक वन विभागले अहिले बरामद रक्तचन्दनको अवस्थाबारे लेखेर पठाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएकामा पत्र छन।रासस