राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा उहाँले पुष्पहार एवं माल्यार्पण गर्नुभएको हो । पृथ्वी जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाभाव प्रकट गर्न सिंहदरबार पश्चिम मूलढोकाअघि मानिसको भीड लागेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता छ । विश्व हिन्दू महासङ्घ, विश्व हिन्दू परिषद्लगायत संस्थाका प्रतिनिधिको पनि भीड लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म ¥याली निकालेको छ । ¥यालीसहित राप्रपाले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको छ । जयन्तीका अवसरमा बाजागाजा, शङ्ख, घण्ट ध्वनिले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।रासस