डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका ६ जनाको अकालमा मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए । साथै डोटीसहित भूकम्पबाट अछाम र बझाङ पनि प्रभावित बनेको थियो । ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन जारी रहेको जनाइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावितलाई ती तीन जिल्लामा अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालेको हो । सोसाइटीका अनुसार ती तीन जिल्लाका भूकम्प अतिप्रभावित तीन सय लाभग्राहीलाई नगद सहयोग थालिएको हो ।रासस