यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत भण्डारण गृहमा १८ टन सुन्तला राख्नुभएको छ । सुन्तला गाउँका रुपमा परिचित सिगानामा यस वर्ष रु तीन करोड सुन्तला उत्पादन भएको । सिगानामा उत्पादन भएको सुन्तलामध्ये १८ टन सुन्तला विद्युतीय शीत भण्डारण गहृमा राखिएको छ भने आठ टन सुन्तला प्राकृतिक शीत भण्डारण गृहमा राखिएको छ । सिगानामा अहिले विद्युतीय र प्राकृतिक गरी तीनवटा शीत भण्डारण गृह रहेका छन् । पुसको अन्तिममा राखिएका सुन्तला फागुन–चैतमा दोब्बर मूल्य पार्नका लागि सुरक्षित भण्डारण गरिएको सुन्तला किसान रामबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो ,“अहिले सिगानाका सुन्तला होलसेल मूल्य प्रतिकेजी रु ६० मा बिक्री हुन्छ, शीत भण्डारण गृहमा राखिएका सुन्तला फागुनमा मात्रै बिक्री गरिन्छ, त्यस समयमा प्रतिकेजी रु एक सय ५० होलसेल र एक सय ८० खुद्रा मूल्यमा बिक्री हुन्छ ।” मौसमअनुसार कृषि उपज उत्पादन गर्ने कृषकले बजार मूल्य नपाउँदा यहाँका किसानहरुले शीत भण्डारणमा राखेका सुन्तला बेमौसममा बिक्री गर्ने गरिएका छन् । सिगानामा हाल दुई परम्परागत र एक आधुनिक सुन्तला भण्डारण गृह छन् । पाँच वर्षदेखि परम्परागत शीत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्रीवितरण गर्दै आएको सुन्तला किसान टोपबहादुर खड्काले बताउनुभयो । “शीत भण्डारण गृहको छेउमा पानीको सिँचाइ गरिन्छ, र बीचमा सुन्तला राखिन्छ, सुन्तलाको तापक्रम समय–समयमा परीक्षण गरिन्छ”, खड्काले भन्नुभयो, “अहिले सुन्तलाको खासै राम्रो मूल्य छैन, भण्डारण गृहमा राखिएका सुन्तलाको दोब्बर मूल्य पर्दछ ।”रासस