प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभयो । आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले हिजो पनि सिङ्गो सदनको विश्वासको मत प्राप्त गर्छु भनेको थिए । त्यो अनुमानमा आधारित थियो तर, आज भने यथार्थतामा परिणत भयो । यसले मलाई ऊर्जा दिएको छ । प्रधानमन्त्री दाहालले संसद्मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ ।” प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो ।रासस