रुकुमपूर्वको सिस्ने गाउँपालिकाका तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएका छन् । गाउँपालिकाको ५ नं वडाको रुमालबारा, ६ नं वडाको आलाचिउरेनी र ढकालबारा समुदायलाई सुरक्षित खानेपानीययुक्त समुदाय घोषणा गरिएको हो । ती समुदायका आठ सय १० घरपरिवारका मानिस सुरक्षित पानीको पहुँचमा पुगेपछि यी समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । यी समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नका लागि स्थानीय सरकारको पहिलो कार्यकालमा विसं २०७८ माघ १६ गतेको दिन तत्कालीन गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा बसेको ७३औँ कार्यकापलिका बैठकले खानेपानी गुणस्तर कार्यविधि २०७८ तथा सुरक्षित खानेपानी गुणस्तर कार्यविधि, २०७८ पारित गरी कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले जानकारी दिनुभयो । यी समुदायले प्रयोग गर्ने पानीको मुहान, पाइपलाइन, ट्याङ्की मर्मतसम्भार गरी आवश्यकताका आधारमा प्रत्येक समुदायको ५०–५० घरधुरीलाई एक घर एक धारा निर्माण गरिएको थियो । त्यसपछि खानेपानी सुरक्षाका विभिन्न चरणहरु पूरा गरिएको कार्यपत्रमा उल्लेख छ । सुरुमा टोली गठन, प्रणालीको विश्लेषण, प्रदूषण पहिचान, जोखिम विश्लेषण, नियन्त्रण र उपाय, सुधार कार्ययोजना तर्जुमा र कार्यान्वयन, अनुगमन र प्रमाणीकरण गरेर प्रतिवेदन सार्वजनिक गरिएको थियो ।