गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो । यो दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ, उत्पादन र लघुवित्त समूहको उपसूचक घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ । नेप्सेकाअनुसार बैंकिङ समूह १२ दशमलव २५, उत्पादन समूह ६० दशमलव १७ र लघुवित्त समूह १० दशमलव ९९ अंकले घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ६८ दशमलव ९८ अंक र निर्जीवन बीमा तीन सय २२ दशमलव २८ अंकले बढेको छ छ । त्यस्तै, विकास बैंक समूहको उपसूचक १९, वित्त समूहको उपसूचक ३५ दशमलव ७६, होटल समूहको उपसूचक एक सय १९ दशमलव ५६ र जलविद्युत् समूहको उपसूचक ५२ दशमलव ६१ अंकले बढेको छ । लगानी समूह एक दशमलव २८, म्युचुअल फन्ड समूह शून्य दशमलव ४२, व्यापार समूह ५७ दशमलव ६७ र अन्य समूह १२ दशमलव ३३ अंकले बढेको पनि नेप्सेले जनाएको छ ।रासस