राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताउनुभएको छ । आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजी निर्माण अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । “साना, लघु तथा घरेलु उद्योगलाई प्रवद्र्धन गरेर आन्तरिक उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउनु अहिलेको आवश्यकता हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । स्वदेशमै उत्पादन बढाएर निर्यात प्रवद्र्धनमा जोड दिइनुपर्ने उहाँको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले नाफा केन्द्रित मात्र नभई सामाजिक उत्तरदायित्वलाईसमेत ध्यानमा राख्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको पूँजी परिचालनबाट आर्थिक विकास र रोगजारी वृद्धिमा सकारात्मक प्रभाव देखिनुपर्ने उहाँको भनाइ छ । सोही कार्यक्रमम पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो एक दशक अवधिमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । “बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा डुब्दैन भनेर आम मानिसमा विश्वास देखिन्छ । अहिले उनीहरूले पूँजी बढाएका छन् । प्रविधिमा प्रगति भएको छ”, उहाँले भन्नुभयो ।रासस