एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरुले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर त्यसमार्फत विदेशी नागरिकलाई ठगी गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनाएको छ । उक्त आर्थिक अपराधमा संलग्न रहेको आरोपमा अछाम बन्नीगढी गाउँपालिका–६ घर भइ काठमाडौँ बस्ने ३५ वर्षीय पृथ्वीबहादुर शाहसहितका छ व्यक्ति रहेका छन् । उक्त ठगीकार्यमा सोही जिल्लाका २५ वर्षीय विजयविक्रम शाह, जाजरकोट घर भइ काठमाडौँ बस्ने २७ वर्षीय चक्रबहादुर खत्री, दोलखा खोपाचाङ्गुका ४४ वर्षीय अनुप खड्का, नवलपरासी (पश्चिम) बर्दघाटका ४० वर्षीय रूकमाङ्गत काफ्ले र अछाम घर भइ काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने २७ वर्षीय रङ्बहादुर साउद संलग्न रहेका पाइएको व्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई नियन्त्रणमा लिइ अदातबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ । सुरुमा सिआइबीले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालिलगायत दर्जनौँ कम्पनीका नाममा शङ्कास्पद कारोबार देखिएको भन्ने सूचना प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको सिआइबीको टोलीले ती व्यक्तिले नक्कली कम्पनी खडा गरेर गैरकानुनीरूपमा आर्थिक कारोबार गर्ने गरेको पत्ता लगाएको हो ।