म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युत्मा कुल छ हजार दुई सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिनुभयो । मासिक एक सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उहाँको भनाइ छ । आयोजनाको आगामी एक वर्षभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने उक्त आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्गलगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताउनुभयो । वडा नं ३ पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै तीन सय मजदुर परिचालन गरिएको छ ।