बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो । बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहसँग बुधबार भएको भेटमा नेपालको बिजुली आयातका लागि देखिने गरी सहकार्य गर्न आग्रह गर्नुभएको हो । यसअघि गत सेप्टेम्बरमा पनि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्ना भारतीय समकक्षीसँग त्यस्तै आग्रह गर्नुभएको थियो । बङ्गलादेशले हाल भारतबाट एक हजार एक सय ६० मेगावाट बराबरको बिजुली लगिरहेको छ । भारतीय मन्त्री सिंहले नेपालबाट बङ्गलादेशमा बिजुली आयातका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने रणनीति तय गरेको छ । बङ्गलादेशले सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा लगानीका लागि चासो व्यक्त गर्दै आएको छ । यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली लैजाने बताएको छ । यस्तै, गत भदौ नौ गते सम्पन्न नेपाल र बङ्गलादेशको ऊर्जा सचिवस्तरीय बैठकले तत्काल नै नेपालबाट ५० मेगावाट बिजुली लैजाने सहमति जनाएको थियो ।